धुवाँ फाल्ने साढे चार सय सवारी कारबाहीमा
बुधबार, २२ कार्तिक २०७४
धुवाँ फाल्ने साढे चार सय सवारी कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा बढी धुवाँ निकाल्दै हिँड्ने सवारी साधनमाथि कारबाही थालेको छ ।

प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई सवारीमुक्त बनाएको ट्राफिकले उपत्यकाभरि धेरै मात्रामा धुवाँ फ्याँक्दै हिँडेका सवारी साधनलाई कारबाही शुरु गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले असोज ३१ गतेदेखि हालसम्म चार सय ५० वटा त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको जनाएको छ । जसमा प्रदूषण स्टिकर फेल भएका तीन सय १७, स्टिकर नर्भका आठ र बढी धुवाँ फाल्ने एक सय २५ सवारीसाधन छन् ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सुन्दर, सफा र स्वच्छ काठमाडौ निर्माणका लागि यस्तो अभियान चालिएको जानकारी दिनुभयो । ‘प्रदूषण जाँच गर्ने निकायले प्रदूषण नै जाँच नगरी स्टिकर दिने प्रचलन बढेको पाइएपछि प्रदूषण जाँचसम्बन्धी अभियान सञ्चालन गरेका हौँ,’ उहाँले भन्नुभयो ।

महाशाखाले यसअघि ठूलो आवाज निकालेर सञ्चालन भएका सवारीसाधनमाथि कारबाही अभियान सञ्चालन गरेको थियो ।

२०७४ कार्तिक २२ गते १४:२० मा प्रकाशित
84 पटक पढिएको

प्रतिक्रिया दिनुहोस