रोल्पा निर्वाचनः चोट बिर्सिएर माओवादीलाई भोट
बुधबार, २२ कार्तिक २०७४
रोल्पा निर्वाचनः चोट बिर्सिएर माओवादीलाई भोट

जीवन डाँगी
रोल्पा । जिल्लामा वाम गठबन्धनले चुनावी नतिजा आफ्नो पक्षमा पार्न एमाले नेता गोकुलप्रसाद घर्तीमगरको कमाण्डमा बाम गठबन्धन निर्वाचन परिचालन कमिटि बनाएको छ । एमाले र माओवादी नेताहरु चुनाव प्रचारका लागि संयुक्त कार्यक्रम बनाएर गाउँ पस्न थालेका छन् । उता नेपाली कांग्रेस र राप्रपा प्रजातान्त्रिकबीचको लोकतान्त्रिक गठबन्धनले पनि चुनावी अभियानलाई तीब्रता दिएका छन् ।
 
गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बर्षमान पुन, चुनावी कमाण्डर तथा एमाले नेता गोकुलप्रसाद घर्तीमगर, सिँचाइ राज्यमन्त्री तथा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार अमरसिंह पुन यतिबेला जिल्लाका चुनावी सभाका प्रमुख बक्त्ता बनिरहेका छन । उनीहरु जनताको मत आफ्नो पक्षमा पार्न एक अर्काप्रति आरोपमा पनि उत्रिरहेका छन् ।
 
स्थानीय तहको निर्वाचनमा रोल्पामा कांग्रेस र एमाले अलिक नजिक देखिँदा माओवादी केन्द्र एक्लै थियो । अहिले त्यसको ठ्याक्कै उल्टो एमाले र माओवादी एक हुँदा गाउँमा कांग्रेस एक्लै देखेर केही अचम्म समेत परेका छन् । एकले अर्काको विरोध गर्ने एमाले, माओबादी सँगै चुनावी प्रचारमा जाँदा अचम्म परेको सुकिदहका मोहलाल वलीले बताए । उनले भने, ‘अस्ती एमाले र माओबादीबाट चुनाव लडेका पनि आज एउटै गाडीमा पो देखिए त । आखिर लड्ने भनेको हामी सर्वसाधरण नै रहेछ । नेताहरु मिलिजाँदा रहेछन ।’
 
स्थानीय तह निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभा निवार्चनको फरक नबुझाउँदा स्थानीयस्तरका कार्यकर्ता र गाउँका नागरिक अलमलमा परेका छन । उनीहरुले गाउँ पुग्दा उम्मेद्वाहरुलाई अस्ती भएको चुनाव किन फेरि भन्ने प्रश्न गर्ने गरेको वाम गठबन्धनका तर्फबाट रोल्पा क्षेत्र नम्बर २ का उम्मेदवार दिपेन्द्र पुनले बताए ।
 
स्थानीय तह चुनावमा एमाले र माओवादी बीचमा भएका झडपहरुको समिक्षा र मेलमिलाप गर्ने निर्णय गरेको दुई पार्टीले जनाएका छन् । माओवादी कार्यकर्ताले एमाले कार्यकर्ता कुटेको बिषय टुुङ्गो नलगाई पार्टीका नेताहरु संयुक्त प्रसारमा लागेकोमा केही सदस्यहरुले एमालेको जिल्ला कमिटी बैठकमा नेताहरुको कडा आलोचना गरेका थिए ।

‘पहिले कुटाई खाएका एमाले कार्यकर्ताले कसरी माओवादीकै पक्षमा भोट माग्न सक्छन्’ ?, दुई पार्टीबीच कार्यकर्ताको मेलमिलाप नगरेकोमा एमालेका एक सदस्यले गुनासो गरे । माओवादी जिल्ला नेतृत्व पनि आफ्नो गल्ती र कमजोरीको समिक्षा गर्ने अवस्थामा पुगेको छ । यस कामलाई छिटै कार्यान्वयन गरिने माओवादी श्रोतले बताएको छ ।

२०७४ कार्तिक २२ गते १४:०७ मा प्रकाशित
291 पटक पढिएको

प्रतिक्रिया दिनुहोस