रूपन्देहीमा पुरानै अनुहार, साख जोगाउने र फर्काउनेबीच भिडन्त
बुधबार, २२ कार्तिक २०७४
रूपन्देहीमा पुरानै अनुहार, साख जोगाउने र फर्काउनेबीच भिडन्त

विकास पराजुली
बुटवल । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी मैदानमा रूपन्देहीबाट अधिकांश पुरानै अनुहार दोहोरिएका छन् । चुनावी मैदानमा उत्रिएका वाम र लोकतान्त्रिक गठबन्धनका दलहरूले यसअघि निर्वाचित र प्रतिस्पर्धीलाई नै चुनावी मैदानमा ‘कम व्याक’ गराएका हुन् ।

रूपन्देहीमा एमाले र माओवादी केन्द्रबीचवको वाम गठबन्धन र कांग्रेस र राप्रपा (प्रजातान्त्रिक) बीचको लोकतान्त्रिक गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । नेतृत्वमा नयाँ र युवालाई ल्याउने बताए पनि साख जोगाउने र फर्काउने नाममा पुरानै उम्मेदवार हावी भएका हुन् । यसअघि ७ वटा क्षेत्र रहेको जिल्लामा स्थानीय तह पुनर्संरचना भएपछि ५ क्षेत्र कायम छन् ।

यस्तो छ क्षेत्र नम्बर १ को अवस्था

रूपन्देही क्षेत्र नम्बर १ मा वाम गठबन्धनले यस अगाडि प्रतिस्पर्धा गरेका नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मालाई चुनावी मैदानमा उतारेको छ । लोकतान्त्रिक गठबन्धनबाट पनि यसअघिकै कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाक दोस्रो पटक चुनावमा भिड्दैछन् । विश्वकर्मा र रज्जाकबीच २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा प्रतिस्पर्धा हुँदा रज्जाक झिनो मतले विजयी भएका थिए ।

रज्जाक २०६४ सालमा पनि उम्मेदवार थिए । त्यस्तै प्रदेशसभातर्फ यस क्षेत्रमा वाम गठबन्धनले दधीराम न्यौपाने र डा.कृष्ण न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

क्षेत्र नम्बर दुईमा ‘हेबीवेट’ भिडन्त

त्यस्तै क्षेत्र नम्बर २ मा २०५६ सालदेखि एमालेले नेता विष्णु पौडेललाई निरन्तर उम्मेदवार बनाउँदै आएको छ । लगातार चुनावी मैदानमा रहेका पौडेलले यस पटक नयाँ प्रतिस्पर्धी पाएका छन् । कांग्रेसका पूर्वसांसद सूर्यप्रसाद प्रधानको निधनपछि  महाधिवेशन प्रतिनिधि युवराज गिरी पहिलो पटक पौडेलसँग प्रतिष्पर्धा गर्दैछन् ।

पौडेल पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थिए भने २०५६ मा कांग्रेसका प्रधानसँग पराजित भएका थिए ।

घनश्याम र दीपकको रोचक भिडन्त

क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट यसअघि प्रतिस्पर्धा गरेका एमालेका उपमहासचिव घनश्याम भुसाल उम्मेदवार छन् । भुसालसँग लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका नेता दीपक बोहोरा भिड्दै छन् ।

कांग्रेस नेता बालकृष्ण खाँण यस पटक समानुपातिकमा बसेपछि भुसालको प्रतिस्पर्धा बोहोरासँग हुन लागेको हो । भुसाल यसअघिको निर्वाचनमा खाँणसँग अत्यन्त झिनो मतले पराजित भएका थिए । त्यो बेला बोहोरा भैरहवा क्षेत्रबाट विजयी भएका थिए ।

क्षेत्र नम्बर ४ मा पनि पुरानै हावी

रुपन्देही क्षेत्र नम्बर ४ मा पनि पुरानै उम्मेदवारहरू हावी देखिएका छन् । मधेसी समुदायको प्रभाव रहेको यो क्षेत्रमा यस अगाडि (साविक क्षेत्र नम्बर ६) बाट विजयी राजपाका प्रभावशाली नेता सर्वेन्द्रनाथ शुक्ला उम्मेदवार छन् ।

त्यस्तै वाम गठबन्धनबाट यस अअघि मधेसी जनाधिकार फोरमबाट उम्मेदवार बन्दै आएका ओमप्रकाश यादव ‘गुञ्जारी’ एमाले प्रवेश गरेर उम्मेदवार भएका छन् । त्यस्तै लोकतान्त्रिक गठबन्धनले यस क्षेत्रबाट प्रमोद यादवलाई उम्मेदवार बनाएको छ ।

पाँच नम्बरमा भरत र डिलारामको भिडन्त

क्षेत्र नम्बर ५ मा पनि पुरानै अनुहार चुनावी मैदानमा छन् । सो क्षेत्रबाट कांग्रेस नेता भरतकुमार शाह निरन्तर १० वर्षदेखि उम्मेदवार बन्दै आएका छन् । यसपटक शाहले प्रतिस्पर्धा बाम गठबन्धनका डिलाराम आचार्यसँग हुनेछ । यस अगाडि राष्ट्रिय जनमोर्चाबाट अर्घाखाँचीमा चुनाव लड्दै आएका आचार्य रूपन्देहीबाट पहिलो पटक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् ।

२०७४ कार्तिक २२ गते १३:४९ मा प्रकाशित
160 पटक पढिएको

प्रतिक्रिया दिनुहोस