जापानी नागरिकको सहयोगमा पुस्तकालय स्थापना
बुधबार, २२ कार्तिक २०७४
जापानी नागरिकको सहयोगमा पुस्तकालय स्थापना

पाल्पा  । जापानी नागरिकको आर्थिक सहयोगमा रामपुरको विजय प्राथमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ ।

नेपाललाई कर्मथलो बनाउनुभएका जापानी समाजसेवी काजुमासा ककिमी (ओकेबाजे) को आर्थिक सहयोगमा पुस्तकालय स्थापना भएको हो ।

पुस्तकालयको उद्घाटन गर्दै समाजसेवी काकिमीले पुस्तकालयबाट विद्यार्थीले बाह्य ज्ञान हासिल गर्ने बताउँदै पुस्तकालयलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नवनिर्मित पुस्तकालयमा विद्यार्थीलाई पठनपाठनमा सहयोग पुग्ने तीन सय पुस्तक रहेका छन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मनोरथ भट्टराईले ओकेबाजेको सहयोगमा दुई लाख ३६ हजार ९ सय १० को लागतमा पुस्तकालय स्थापना तथा कक्षा नर्सरी र एलकेजीका विद्यार्थीको लागि पनि बस्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

पुस्तकालय स्थापना तथा विद्यालयको विविध क्षेत्रमा ओकेबाजेले प्रदान गर्नुभएको सहयोगप्रति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोवराज तिवारीले आभार प्रकट गर्नुभयो ।

२०७४ कार्तिक २२ गते ११:५० मा प्रकाशित
79 पटक पढिएको

प्रतिक्रिया दिनुहोस