वामको घोषणापत्र: पाँच वर्षमा चीनको रेलले काठमाडौँबाट लुम्बिनी जोड्छौँ
मङ्गलबार, २१ कार्तिक २०७४
वामको घोषणापत्र: पाँच वर्षमा चीनको रेलले काठमाडौँबाट लुम्बिनी जोड्छौँ

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रले तीब्र आर्थिक विकास गर्ने लक्ष्यसहित संयुक्त चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् ।

आगामी ५ वर्षमा गर्ने कार्ययोजनासहित गठबन्धनले मंगलबार राजधानीमा चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।

पाँच वर्षमा बनाइने परियोजना

घोषणापत्रमा अबको ५ वर्ष भित्र पूर्व-पश्चिम राजमार्गको समानान्तर विद्युतीय रेलमार्गदेखि रसुवागढी-काठमाडौँ-पोखरादेखि लुम्बिनीलार्इ चीनबाट केरूङ हुँदै रेलमार्गले जोड्ने बाचा गरिएको छ ।

वामले हिमाली जिल्लाका सदरमुकामलाई चार लेनको सडकबाट जोड्ने पनि जनाएका छन् । त्यसैगरी हिमाली जिल्ला सदरमुकामलार्इ चार लेनको सडकले नै चीनको सीमानामा जोड्ने प्रतिवद्धता गरिएको छ । लामो समयदेखि अल्झिएको हुलाकी राजमार्ग र मध्यपहाडी राजमार्गलाई चार लेनको बनाउने वाचा पनि वामले गरेका छन् ।

‘आगामी पाँच वर्षमा पूर्व-पश्चिम राजमार्गको समानान्तर तीव्र गतिका विद्युतीय रेल सञ्जाल बनाइनेछ । यसै अवधिमा रसुवागढी-काठमाडौँ-पोखरा, लुम्बिनी विद्युतीय रेलमार्ग निर्माण गरिनेछ । आगामी पाँच वर्षमा राजधानीका चक्रपथमा आवश्यक गतिको रेल सञ्चालन गरिनेछ’ संयुक्त घोषणापत्रमा भनिएको छ, ‘काठमाडौँ र वीरगञ्जलाई जोड्ने रेलमार्ग निर्माण अघि बढाइनेछ । काठमाडौँलगायत मुख्य सहरहरूमा सम्भाव्यता हेरेर मेट्रो, मोनोरेल, ट्राम र अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गरिनेछ । स्थानीय तहमा चक्रपथको सम्भाव्यता अध्ययन गरी निर्माण आरम्भ गरिनेछ ।’

राजधानी काठमाडौँलाई छिमेकी देशका रेलमार्गसँग जोड्ने र राजधानीसँग सबै प्रदेशका केन्द्रहरुलाई द्रूतमार्गले जोड्ने बाचा घोषणा पत्रमा गरिएको छ । ‘राजधानी काठमाडौँलाई छिमेकी मुलुकका रेलमार्ग सञ्जालसँग तथा राजधानीलाई सबै प्रादेशिक केन्द्रसँग द्रुतमार्गबाट जोडिनेछ’, घोषणापत्रमा भनिएको छ, ‘प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी प्रदेशका केन्द्रलाई जिल्ला सदरमुकाम तथा स्थानीय तहका केन्द्रसँग आधुनिक यातायात सञ्जालबाट जोडिनेछ ।’

१० वर्षका लागि यस्ता छन् परियोजना

यस्तै आगामी १० वर्षभित्र पुरा हुने गरी जलमार्ग, पदमार्ग, केबुलकार तथा घोडेटो र गोरेटो बाटो निर्माण, विस्तार तथा स्तरोन्नतिका बृहत् परियोजना सञ्चालन गरिनेछ । यस अवधिमा ग्रामीण क्षेत्रमा निर्माण गरिएका ८१ हजार किलोमिटर सडकहरूलाई कृषि सडकमा रूपान्तरण गरिने उल्लेख छ ।

२०७४ कार्तिक २१ गते १९:३९ मा प्रकाशित
176 पटक पढिएको

प्रतिक्रिया दिनुहोस