भेडापालन व्यवसाय संकटमा
सोमबार, २० कार्तिक २०७४
भेडापालन व्यवसाय संकटमा

पोखरा । ‘पहिले पहिले हिमाली क्षेत्रमा ऊन कि सुन भन्ने उखान जनजिब्रोमा निकै प्रचलित थियो,’ अन्नपूर्ण गाउँपालिका– ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले भन्नुभयो ।

पछिल्लो पुस्ता भेडापालनतर्फ आकर्षित हुन नसक्दा हिमाली कृषि परम्पराको महत्वपूर्ण पाटोका रुपमा रहेको यो व्यवसाय संकटमा पर्दै गएको छ ।

अन्नपूर्ण पदमार्ग क्षेत्रमा एक दशकअघिसम्म भेडी गोठ पर्याप्त संख्यामा रहेकामा अहिले जम्मा दुईवटा गोठ मात्र छन् । हिमाली कृषि परम्परालाई बचाऊनकै लागि अध्यक्ष गुरुङले अन्नपूर्ण आधार शिविर नजिकै एउटा भेडी गोठ राख्नुभएको छ । एउटा भेडी गोठमा करिब ५०० वटा भेडा रहेका छन् ।

विगतमा जस्तो भेडाको ऊन निकालेर राडी तथा काम्लो बनाऊन छोडिएका कारण यो व्यवसाय संकटमा पर्दै गएको गुरुङ बताउनुहुन्छ । ‘भेडा पाल्नेले एक वर्षमा दुई पटक ऊन काट्नु पर्छ,’ उहाँले भन्नुभयो, ‘राडी तथा पाखी बनाउने जनशक्ति अभावका साथै बजारमा आएका सस्तो सिरक डसनाका कारण भेडाको ऊनबाट बन्ने सामानको लागत बढी पर्ने गरेको छ ।’

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो ।

समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथमको आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङनोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।

अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिकरुपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो ।

समुद्री सतहदेखि चार हजार १ सय ३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा विगतमा पदयात्रामा आउने पर्यटकलाई तिनै भेडी गोठमा बस्ने खाने व्यवस्था गरिन्थ्यो । अन्नपूर्ण क्षेत्रमा २०४३ सालपछि होटल बन्न थाले पनि त्यसअघि तिनै भेडी गोठले पर्यटकलाई जसोतसो होटल तथा लजका रुपमा सेवा दिएको स्थानीयवासी बताउँछन् ।

यहाँका भेडी गोठसँग अन्नपूर्ण आधार शिविर जाने बाटोमा पर्ने पूजनीयम् वराहको प्रत्यक्ष सम्बन्ध रहेको अर्का स्थानीय समाजसेवी एवं संरक्षण व्यवस्थापन उपसमिति भनुवाका उपाध्यक्ष जंगबहादुर गुरुङले बताउनुभयो ।

भेडी गोठ लैजाँदा अनिवार्यरुपमा पूजनीयम् वराहको पूजा गर्नु पर्ने यस क्षेत्रको प्राचीन प्रचलन रहेको छ । उहाँका अनुसार पूजनीयम् वराहको शक्तिका कारण यस मन्दिर वरपर भेडाले आवाज ननिकाल्ने जनविश्वास कायमै छ ।

हिमाली कृषि परम्परा र यहाँको संस्कृतिमा महत्वपूर्ण पक्षका रुपमा रहेको भेडापालन व्यवसायलाई बचाउनु आवश्यक भएको र यसका लागि राज्यले चासो लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

२०७४ कार्तिक २० गते १२:३५ मा प्रकाशित
71 पटक पढिएको

प्रतिक्रिया दिनुहोस