कविता: कहिले बन्छस् त उम्मेदवार ?
आइतबार, १९ कार्तिक २०७४
कविता: कहिले बन्छस् त उम्मेदवार ?

–रामकुमार एलन
टेलिभिजनका भित्ताभरि
अखबारका पातैपिच्छे
पत्रमित्रमा झैँ छापिए उम्मेदवारका तस्बिर
फत्किनु भयो बार्दलीबाटै बुबा फापरको ढिँडो झैँ
राजनीति गर्छस् कि नेताको खेताला होस्
बिर्सिस् कि उर्वर २० साल
सम्झनामा छैन कि गाउँको गैरीखेत
तैँले नै उडाएको हो शहरको घडेरी
फर्किन्छ तेरो वैँश र पिँडुलाका बोसो ?
राइनासे, पाइनस् त टिकट यसपालि पनि ?


आँगनी डिलमा
बुरुसले दाँत घोचिरहेको छोराले
ओकल्यो एकमुठ्ठी मञ्जनको झोल
झोलसँगै ओकल्यो विद्रोह र असन्तुष्टिको तीतो
र, खोल्यो फायर कोक्याउँदो जिन्दगीको,
कसले पढाउन लगाएको नैतिकता
किन कमाउनु भनेको इमान इज्जत
र, मेरै ठेक्का पर्यो जोगाउन चरित्र
भनिराख्ने राख्नू बाबुको नाम
अनि टिकट पार्टीले दिनुपर्ने कि तपाईंले ?


सोध्नुस् न १०० मा फोन गरेर
उम्मेदवारको हुलिया
मूलपानीको बालुवाखानीमा हप्ता उठाउने
जेठिपट्टिका कान्छी छोरी भन्दा
कान्छी पाँचौँ पत्नी भित्र्याउने
गौँडामा बन्दूक पड्काउने
ठमेलमा होटलमा आगो लगाउने
बेचेर बलको बोसो
सकेसम्म चन्दा उठाउने
चन्दा नदिनेको परिवार उठाउने
यार्चागुम्बा बेच्ने होइन
यार्चा टिप्न गएकालाई भिरबाट गुल्टाउने
लुटेको यार्चा र रक्तचन्दन बोक्ने
ओसार्ने भिआइपी स्टिकरमा सुनका बिस्कुट
भन्नोस् न बुबा, यो २० वर्षमा
छ कुनै जिल्ला प्रहरीको १०० मा मेरो यस्तो पौरखको उजुरी ?


जाला भनेर बाबुआमाको नाम
उमेरमा मन मिलेकीलाई त आँखा लाइनँ
ठमेल त परको कुरा, एक सर्को चुरोट तानिनँ
गाडियो बुटलेर गाउँभरिका पटाका पनि
तिहारमा पनि नदिएको भन्दै रोए गाउँका बालबालिका
बहुविवाह गर्नेलाई मोसो दलियो
गुण्डाराजको विरोधमा एफएममा बोलियो
देख्नु भयो बुबा, पाइँदोरहेछ त टिकट म जस्ताले ?


यत्रो वर्ष के हेरिस्
बढ्दै गयो बुबाको रिस
पाँच हजार तिरेर पाँच हजार नै छन् उम्मेदवार
तँ किन हुन सकिन् पाँच हजार एक ?
स्वतन्त्रमा पनि उठ्न नसक्ने के राजनीति गर्छस् ?
बुबालाई छोरामाथि लगानीको ब्याज असुल्ने भोक छ
पिटिएलान् भन्ने डर भयो भोट माग्न आउनेहरु चैँ
टाँडमा बसेर तातोपानी खानेबेलाका पनि उम्मेदवार
ओठ निचोर्दा दूध आउनेहरु पनि उम्मेदवार
न उद्योग चलाएर कर छल्न जानियो
न भएको उद्योग बन्द गराउन बम हानियो
सकिएन पिट्न कलेजमा प्रोफेसर
हिँडिएन भिरेर कम्मरमा पेस्तोल
२० वर्षसम्म बुबाको त नजरमा नपरेको
कसरी पर्नु नेताको नजरमा
र, पाउनु चुनावमा टिकट


सोधेका थिए नेताले
बालुवाखानी थाहा छ ?
पेस्तोल पड्काएको छ ?
बहुविवाह गरेको हो ?
यार्चाको ठेक्का छ ?
सुनभरिया हो ?
मात्र भनेँः होइन हजुर
अनि काटयो मेरो नाम उम्मेदवारबाट ।


जुनेलो भए डढ्थ्यो होला,
बार्दलीमा पड्किरहनु भयो बुबा हाँडीमा जुनेलो झैँ
बर्बराइरहनु भयो, कहिले पाउँछस् त टिकट ?
हिँडे समस्याको बिस्कुन बाटोभरि सुकाउँदै
वेदनाको बजारमा आक्रोशको पोको फुकाउँदै
आइपुगेछु, बागबजारतिर कविता सुन्न–सुनाउन ।

२०७४ कार्तिक १९ गते १३:१३ मा प्रकाशित
906 पटक पढिएको

प्रतिक्रिया दिनुहोस