आगामी निर्वाचन, राष्ट्रिय पुँजीको विकास र समृद्धि: सम्भावना र चुनौती
मङ्गलबार, १४ कार्तिक २०७४
आगामी निर्वाचन, राष्ट्रिय पुँजीको विकास र समृद्धि: सम्भावना र चुनौती

डा.विजयकुमार पौडेल

यस छलफलको शीर्षकले निम्न लिखित चारवटा विषयमा स्पष्टताको माग गरेको छ:

  •      आगामी निर्वाचन र यसको सेरोफेरो
  •       राष्ट्रिय पुँजीको विकास र समृद्धि
  •       देशको विकास र समृद्धिका सम्भावना र देखिएका चुनौती
  •       निष्कर्ष

१. आगामी निर्वाचन र यसको सेरोफेरो

वामपक्षको चुनावी तालमेलबाट देशी-विदेशी प्रतिक्रियावादी सत्ता धेरै अत्तालिएको छ । आउने निर्वाचनपछि झन् कम्युनिस्ट एकता नै हुने भन्ने विषयलाई देशको दलाल पुँजीपति वर्ग र यसको पालक साम्राज्यवादले धेरै गम्भीरतापूर्वक लिएको छ । साम्राज्यवादी पुँजीवादी शक्तिले नेपालमा सजिलै चुनावको माध्यमबाट बहुमतसहितको सरकार बनाउन देला भनेर हल्का ढंगले लिनु बुद्धिमानी हुँदैन । देशको दलाल पुँजीवादी शक्तिलाई साम्राज्यवादले धेरै नजिकबाट सहयोग गर्दछ भन्ने विषयलाई मूलधारका ठुला कम्युनिस्ट पार्टीको नेतृत्वले गम्भीरताका साथ लिनु आवश्यक छ । हरेक खालको उत्ताउलोपनाबाट जोगिन आवश्यक छ ।

देशको कम्युनिस्ट नेतृत्वले विगतका आफ्ना तमाम अवसरवादी चरित्र र सत्तालोलुपतालाई फ्याँकेर अगाडि बढ्ने हिम्मत गरेमा मात्रै आगामी निर्वाचनमा कम्युनिस्ट शक्तिले बहुमत ल्याउने र प्राप्त बहुमतलाई राष्ट्र निर्माणमा प्रयोग गर्ने अवस्था रहनेछ । अवसरवादबाट मुक्त नहुने हो भने कम्युनिस्ट शक्तिको बहुमत आए पनि देशले सही दिशा पाउने छैन ।

 विचार र दृष्टिकोणमा स्पष्टता भएन भने कम्युनिस्ट शक्तिको संसद्मा बहुमत आएर मात्रै हुँदैन भन्ने कुरा पहिलो र दोस्रो संविधान सभा (र रुपान्तरित संसद्)ले स्पष्ट पारिसकेको छ । दुवै संविधानसभामा कम्युनिस्ट पार्टीहरूको बहुमत थियो । तर देशका दुवै ठुला कम्युनिस्ट पार्टीहरूले पालैपालो बुर्जुवा शक्तिलाई बोक्ने र उसको स्वार्थको गोटी हुने काम गरेका छन् ।

विगतको सही समीक्षा गरिएन र त्यसबाट शिक्षा लिइएन भने चुनावपछि अहिले भनिएको कम्युनिस्ट एकता हुन नसक्ने र यो वा त्यो कम्युनिस्ट पार्टी दलाल पुँजीपति वर्गको पार्टीसँग घाँटी जोड्न जाने अवस्था रहन सक्छ ।

२. राष्ट्रिय पुँजीको विकास र समृद्धि

कम्युनिस्ट दृष्टिकोणको सन्दर्भमा अहिले आमरुपमा चर्चा गरिएको शब्द समृद्धि का दुई पक्ष छन्-
१. राष्ट्रको समृद्धि
२. आम श्रमजीवी जनताको समृद्धि

अहिलेको सन्दर्भमा समृद्धि को दिशातिर जानु भनेको राष्ट्र आर्थिक मामिलामा आत्मनिर्भरतातिर अग्रसर हुनु हो र काम गर्न चाहने मानिसले कम्तीमा पनि सामान्य सुविधासाथ बाँच्न पुग्ने ज्याला सहित रोजगारी पाउने वातावरण बन्नु हो ।

यो कुरा रोजगारीको व्यापक विस्तारबाट मात्रै सम्भव हुन्छ । यसका लागि सबै क्षेत्रमा उत्पादनका गतिविधि व्यापक मात्रामा बढ्नु पर्दछ, देश औद्योगिकरणको दिशामा अगाडि बढ्नु पर्दछ । औद्योगिकरणका लागि आवश्यक भौतिक पूर्वाधारको विकास आवश्यक छ । भौतिक पूर्वाधारको विकास पनि राष्ट्रिय पुँजीको विकास नै हो ।  

देशलाई औद्योगिकरणको दिशामा अगाडि बढाउनका लागि पुँजीको आवश्यकता  पर्दछ । पुँजी आपूर्तिका दुईवटा तरिका छन्– १. राष्ट्रिय पुँजी निर्माण, २. दलाल पुँजी निर्माण

राष्ट्रिय पुँजी

देशमा विस्तारित पुनरउत्पादनको चक्र सञ्चालन गर्नमा प्रयोग हुने पुँजी नै राष्ट्रिय पुँजी हो । वैदेशिक ऋण पुँजीले पनि यदि राष्ट्रिय उत्पादन बढाउन मद्दत गर्दछ भने त्यसले राष्ट्रिय पुँजीकै विकास गर्दछ । उत्पादनको चक्रीय विस्तारसंगै राष्ट्रिय पुँजीको पनि विकास र विस्तार हुन्छ ।

दलाल पुँजी

दलाल पुँजीका तीन पक्ष छन्:
१.वैदेशिक पुँजीको त्यस्तो लगानी जसले देशबाट नाफा मात्रै बाहिर लैजान्छ, देशमा उत्पादनको चक्र विस्तार गर्दैन, राज्यलाई तिर्नुपर्ने करबाट उन्मुक्तिका लागि राज्ययन्त्रलाई प्रयोग गर्दछ, लगानी गरिएको देशको कानुन मान्दैन वा मिच्ने प्रयास गर्दछ ।

वैदेशिक दलाल पुँजीको सुरक्षा र संरक्षणमा क्षेत्रीय वा विश्व साम्राज्यवाद खुलेर अगाडि आउँछ । यसले आफ्नो लगानीबाट अकूत नाफा बाहिर लैजानका लागि सम्बन्धित देशमा आफू अनुकूल कानुन बनाउने प्रयास समेत गर्दछ । यी सबै कामका लागि सम्बन्धित देशका राजनीतिक संस्थाहरूलाई समेत आफ्नो प्रभाव क्षेत्रमा ल्याउँछ ।  

२.दलाल नोकरशाही पुँजी-राज्ययन्त्रको माथिल्लो स्थानमा बसेर मूलतः वैदेशिक दलाल पुँजीपतिको दलाली गरेर तथा राष्ट्रिय बजेटमाथि लुट गरेर ठुला कर्मचारीहरू (नोकरशाहहरु) र राजनीतिक नेतृत्वका मानिसहरूले जुन पुँजी कमाउँछन्, त्यसलाई दलाल नोकरशाही पुँजी भनिन्छ । श्रोत नै भ्रष्टाचार भएको हुँदा प्रायसः यस्तो पुँजी राष्ट्रको वैधानिक उत्पादनको गतिविधिमा वा वैधानिक लगानीमा आउँदैन । यस्ता पुँजीपतिहरुले आफ्नो नाजायज पुँजीलाई विभिन्न तरिकाले विदेश पुर्याउँछन् र देशलाई कंगाल   बनाउँछन् । कुनै तरिकाले देशको वैधानिक उत्पादन कार्यमा प्रयोग भयो भने नोकरशाही दलाल पुँजी पनि राष्ट्रिय पुँजीमा रूपान्तरण हुन सक्छ ।

३. बिना लगानी वा अनुत्पादक लगानीबाट सिर्जना हुने दलाल पुँजी-विभिन्न क्षेत्रबाट लगानी नगरी वा उत्पादन कार्यमा पुँजी संलग्न नगरी आर्जन गरिने पुँजी अनुत्पादक दलाल पुँजी हो । अनुत्पादक दलाल पुँजी राजनीतिक नेतृत्वमा धेरै फस्टाएको  देखिन्छ ।           

दलाल पुँजीको चरित्र

दलाल पुँजीवादले देशलाई आत्मनिर्भरताको बाटोतिर जाने हरेक क्षेत्रको लगानी र निर्माणलाई हतोत्साहित गर्दछ । के सरकारी, के निजी, के सहकारी, राष्ट्रिय लगानीलाई हतोत्साहित गर्नु र अनेक बहानामा साम्राज्यवादी पुँजीको सेवा गरी देशलाई निरन्तर परनिर्भर बनाउनु दलाल पुँजीवादको आधारभूत चरित्र हो । नेपालमा विगत लामो समयदेखि विकास निर्माणको सरकारी बजेटको पचास प्रतिशत पनि खर्च भइरहेको छैन, निजी क्षेत्रलाई उठ्नै दिइँदैन र सहकारी क्षेत्रलाई धराशायी बनाउने गरी अनेकखालका ऐन, नियम समेत पारित गरिन्छ ।

आधारभूत तहको श्रमिक, बुद्धिजीवी, विद्यार्थी, युवा सबैलाई दलाल पुँजीवादी चरित्रले ग्रसित गरेको छ । आम सामजिक मनोविज्ञान दलालीको मनोविज्ञानबाट आक्रान्त भैसकेको  छ ।

हिजोका दिनमा क्रान्तिका लागि प्राण हत्केलामा राखेर हिँडेको कार्यकर्ता दलाल पुँजीका अगाडि बोल्नै नसक्ने अवस्थामा पुगेको छ । खराबीविरुद्ध वैचारिक सङ्घर्ष गर्नुभन्दा पनि पद, प्रतिष्ठा र सत्ताका लागि मरिहत्ते गर्ने खतरनाक प्रवृति विकास भएको छ ।

दलाल पुँजीवाद नै नेपालको अहिलेको प्रगतिको बाधक हो । दलाल पुँजीपति वर्गको राजनीतिक सत्तासंग नै नेपाली श्रमजीवी जनताको प्रधान अन्तर्विरोध रहेको छ ।

अर्थतन्त्रको विकासका लागि राष्ट्रिय पुँजी निर्माण

राष्ट्रिय पुँजी निर्माण निरन्तर अगाडि बढाइने उत्पादनको प्रक्रियामा बन्दै र बढ्दै जाने प्रक्रिया हो। उत्पादनशील क्षेत्रमा लगानीका लागि पुँजी निर्माण गर्ने, उपलब्ध पुँजी लगानी गर्ने र वृद्धि भएको पुँजी पुनः लगानी गर्ने चक्रिय प्रणालीबाट नै राष्ट्रिय पुँजीको निर्माण हुने छ । जतिजति उत्पादनशील पुँजीको मात्रा बढ्दै जान्छ उतिउति मात्रामा दलाल पुँजीको मात्रा स्वतः घट्दै  जान्छ ।

यसैले हरेक उपायबाट देशका लागि आवश्यक उत्पादनको क्षेत्रका लागि लगानी जुँटाउँदै जानु, हरेक तरिकाबाट देशमा लगानी भित्र्याउँदै लैजानु र उत्पादनशील लगानीमा निरन्तर वृद्धि गर्दै लैजानु नै राष्ट्रिय पुँजी निर्माणको प्रक्रिया हो । उत्पादनशील लगानीलाई सहजीकरण गर्नु र लगानी हतोत्साहित गर्ने ऐन, नियम र हरेक प्रकारका तरिकाहरुलाई निर्ममतापूर्वक निस्तेज गरिनु आवश्यक छ ।

संविधानले व्यवस्था गरेको अर्थतन्त्रको स्वरूप-तीन खम्बे अर्थतन्त्र-
१. सार्वजनिक (सरकारी) क्षेत्र
२. सहकारी क्षेत्र
३. निजी क्षेत्र

यी तीनवटै क्षेत्रलाई देशको संविधान र कानुनको दायराभित्र निर्वाधढंगले काम गर्न दिने वातावरण हुनु पर्दछ । अर्थतन्त्रको विकासका लागि सबैभन्दा पहिले गरीखाने वातावरण हुनुपर्दछ । अहिले त्यही कुराको अभाव छ ।

३. देशको आर्थिक विकासका सम्भावना र चुनौती

देशको आर्थिक विकासका सम्भावना

दलाल पुँजीवादलाई परास्त गर्ने हो भने नेपालको विकासका अत्यन्त धेरै सम्भावना छन् । माक्र्स भन्नुहुन्छ-'हरेक अविकसित देशले विकसित देशमा आफ्नो भविष्यको ऐना देखेको हुन्छ ।' विकसित देशहरूले आफ्नो अवस्थालाई टिकाउने, भएका संरचना र प्रविधिहरूको नवीकरण गर्ने मात्रै हो । देशभित्रको भौतिक विकास मथिल्लो तहमा भएका कारणले नै थप लगानीका लागि बजार खोज्ने क्रममा उनीहरू साम्राज्यवादी भएका हुन् ।  

देशको आर्थिक विकासका अगाडि उपस्थित चुनौती

नेपाली विकास प्रक्रियाले सामना गरिरहेका दुईवटा प्रमुख बाधाहरु छन् । तिनलाई पन्छाउनु ठुलो चुनौती रहेको छ । संक्षिप्तमा भन्नुपर्दा चुनौती निम्न छन्:

१.आन्तरिक २.बाह्य

१. आन्तरिक चुनौतीहरू:
राजनीतक दल र तिनका अवयवहरु (मूलतः कम्युनिस्ट पार्टी र यसका विविध सङ्गठनहरू) र समग्र राज्य संयन्त्र (अदालत र विविध संवैधानिक निकायहरू, सार्वजनिक प्रशासन, सेना, प्रहरी, विश्वविद्यालय इत्यादि)लाई दलाल पुँजीवादको पञ्जाबाट मुक्त गर्नु ठुलो आन्तरिक चुनौती हो ।  

सामाजिक परिवर्तनको जिम्मा लिएको देशको कम्युनिस्ट शक्तिलाई वैचारिकरुपमा स्पष्ट र आचरणमा शुद्ध बनाउनु झन् ठुलो आन्तरिक चुनौती हो । कम्युनिस्ट ब्राण्ड लिएका दलहरूलाई आन्तरिक तत्त्व पनि कम्युनिस्ट नै बनाउनु विशेष आन्तरिक चुनौती हो ।

२. बाह्य चुनौतीहरू

शक्ति राष्ट्रहरूको चौतर्फी हस्तक्षेप नेपालको विकास, शान्ति, अमन चैन र राष्ट्रिय एकताका अगाडि उपस्थित चुनौती हो भन्ने कुरा जगजाहेर छ । कम्युनिस्ट पार्टीहरूको सही एजेण्डा र तद् अनुकूलको आचरणले बाहिरी चुनौतीको सामना गर्न सकिने छ ।

४. निष्कर्ष

अहिको निर्वाचनमा कम्युनिस्ट शक्तिको बहुमत आउने सम्भावना छ । विगतका गल्तिहरुबाट सिक्न जरुरी छ  तर यस कुराको अभाव देखिन्छ । विगतको ठोस समीक्षाको जगमा सही विचार, योजना र आचरण निर्माणको   ठोस र इमान्दार पहल गरेमा आगामी निर्वाचनबाट राष्ट्रिय पुँजी निर्माणको ढोका खुल्ने छ । नेपाली अर्थतन्त्रको विकासको गति सुरु हुने छ ।  

२०७४ साल कार्तिक ११ गते मदन भण्डारी अध्ययन केन्द्र बुटवलद्वारा आयोजित गोष्ठीमा प्रस्तुत

२०७४ कार्तिक १४ गते १३:०५ मा प्रकाशित
1778 पटक पढिएको

प्रतिक्रिया दिनुहोस