लाप्राकमा एनआरएनको नमुना बस्तीः बाँसको भाटामा माटो पोतिँदै, भत्किन थाले घर
सोमबार, १३ कार्तिक २०७४
लाप्राकमा एनआरएनको नमुना बस्तीः बाँसको भाटामा माटो पोतिँदै, भत्किन थाले घर

सुजन न्यौपाने

गोरखा । यहाँको भूकम्पप्रभावित लाप्राक गाउँमा गैरआवासीय नेपाली संघले बनाइरहेका घरमा कमशल निर्माण सामाग्री प्रयोग गरेको पाइएको छ ।

उच्च पहाडी भेगमा रहेको लाप्राकमा एनआरएनले बनाउँदै गरेको नमुना बस्तीका घरमा बाँसका भाटा प्रयोग गरी माटोलै मात्रै लिपिएपछि भत्किन थालेका हुन्  ।

एनआरएनले लाप्राकमा बनाइरहेका नमुना बस्तीको घरको डिजाइन भुइँतलामा २ कोठा र माथिल्लो तलमा दुर्इ कोठा रहेका छन् । निर्मित घरका माथिल्लो तलाको भुइँ र भित्तामा बाँस फुटाएर भाटाले बेरिएको छ । त्यसमाथि माटोले पोतिएको छ । कच्ची घरका भित्तामा लिपिएको माटो अहिलेबाटै उप्किन थालेपछि घरभित्र सजिलै हावा र घाम छिर्ने अवस्था छ ।

घरमा हानिएको लिउन उप्किन थालेपछि भूकम्पपीडित लाप्राकबासीले यी घरको दीगोपनामा प्रश्न उठाएका छन् । उनीहरूले  भित्तामा लिपिएको माटो अहिले नै भत्किन थालेपछि एनआरएनले बनाएका घर लामो समय टिक्न नसक्ने बताएका छन्।

२०७२ को भूकम्पपछि एनआरएनले लाप्राकस्थित ५७३ घर भएको दुप्सीपाखा बस्तीमा सार्ने उद्धेश्यका साथ निर्माण थालिएका घर अहिलेसम्म पूरा नहुँदा स्थानीय टहरामै जीवन बिताउन बाध्य छन् ।

गुप्सीपाखाको नमूना बस्तीका ५७३ घर आगामी वैशाख १२ गतेसम्म पूरा गरी हस्तान्तरण गर्ने योजना थियो । तर हालसम्म २ वटा मात्रै घर तयार भएका छन् । तर, तोकिएको मितिमा सबै घर बन्ने सम्भावना नरहेको बताउनुहुन्छ, निर्माण कार्यमा खटिएका इन्जिनियर दिपेश सिंह ।

प्रतिकुल मौसम र ढुवानीको समस्याले निर्धारित समय अर्थात २०७५ बैशाख १२ सम्ममा निर्माण सक्न कठिनाइ हुने समेत इन्जिनियर सिंहले बताउनुभयो । सुरूमा ७५ करोडको यो परियोजनाको अवधि लम्बिँदै जाँदा एक अर्ब भन्दा माथि पुगेको छ ।

सबै पूर्वाधारसहित निर्माण भइरहेको यो बस्ती निर्माणमा विशेष ध्यान दिन नसके यसले अन्तराष्टियस्तरमै लगानीकर्ता र निर्माणकर्ताको साख घट्ने अवस्था रहेको स्थानीयबासी बताउँछन्।

धार्चे गाउँपालिकाको गुप्सीपाखामा निर्माण हुन लागेको नमूना बस्तीको अन्तर्राष्टिय रुपमा समेत निकै चर्चा भएको थियो । स्थानीयबासीले भने निर्माण गरिएका घर गुणस्तरीय नभएका बताइरहेका छन्। बस्ती निर्माण २०७३ माघ १५ देखि सुरु गरिएको थियो ।

२०७४ कार्तिक १३ गते १७:१५ मा प्रकाशित
282 पटक पढिएको

प्रतिक्रिया दिनुहोस