'पहिले 'लोडसेडिङ्ग मन्त्री' भने, अहिले नेपाल उज्यालो भयो'
शुक्रबार, ०३ कार्तिक २०७४
'पहिले 'लोडसेडिङ्ग मन्त्री' भने, अहिले नेपाल उज्यालो भयो'

तिहार फूलको पर्व, भाइ बहिनीको मिलन अनि झिलिमिली बत्तीको पर्व उज्यालो पर्व तर उज्यालो अभावमा न फूल देखिने न भाइ बहिनीको मुहारको मुस्कान ।

संयोग भनौ जनताको चाहनाबस म गत तिहारको केही महिना अगाडि नेपाली क्रान्तिका प्रचण्डको नेतृत्वको सरकारमा ऊर्जा मन्त्री भएँ । जलश्रोतको धनी देशको १८ घण्टा लोडसेडिङ्ग गर्ने मन्त्रालयको मन्त्री ? मन्त्री भएकै दिन लोडसेडिङ्गको पीडाबोध गरिरहेका जनताको छटपटी महसुस गरेँ ।

दोस्रो हप्ता प्रतिबद्धता पत्रको १ नम्बर बुँदामा राखेँ, म लोडसेडिङ्गको पीडाबोध गरिरहेका जनताको पीडामुक्त गर्न अध्यारोलाई हटाई लोडसेडिङ्गबाट मुक्त गर्नेछु । यस्तो भनाई अपत्यारिलो ? कसैले भने सस्तो लोकप्रियता, केहीले लेखे सबैले भन्दै आएको कुरा, कसैले भने दुस्साहस त कसैलाई लाग्यो फेरि नेताले जनतालाई झुक्यायो वा ढाँट्यो । आदि आदि.....

न जनता, न कर्मचारी न त व्यापारी, कसैलाई विश्वास थिएन । स्वयम् खडा गरेको चुनौतीले झन् गम्भीर बनायो, तर हरसमस्याको समाधान हुन्छ भनेर सम्हालिएँ । समस्या कहाँ छ खोज्न थालेँ । साउन पनि लोडसेडिङ्ग किन ? प्रश्न गर्न थालेँ र उत्तर खोज्दै गर्दा वितरणमा हुने अवैध व्यापारको हस्को आयो । अनि व्यवस्थापनको कुनियत सच्याउन मेरो प्रतिबद्धताप्रति इमान्दार व्यक्तिको जरुरी देखेँ । त्यसपछि अनुप उपाध्यायलाई मन्त्रालय सम्हाल्न अनुरोध गरे सँगै काम नै नपाएर पाखा लागेका कुलमान खोजेँ ।

उनीहरूसहित अन्य प्राविधिकलाई राखेर भनेँ मलाई उज्यालो चाहियो  । अवैध व्यापार बन्द गर्ने र समानवितरण गर्ने सही विधि तय गर्ने, थपिन सक्ने पावर थप्ने योजना चाहियो र सारमा जनतालाई उज्यालो चाहियो । कुलमानलाई भनेँ, 'उज्यालो तिहार हुनुपर्छ ।' प्राविधिक कमिटी तयार भयो, १५ दिनको मेहनतपछि तिहार उज्यालो पार्ने योजना बन्यो ।

लक्ष्मी पूजाको अवसरमा लोडसेडिङ्ग हटाउने कामको शुभारम्भ भयो । उज्यालो तिहार र छटसम्म लोड व्यवस्थापनको रुटिन बन्यो । १२ घण्टाको औद्योगिक लोडसेडिङ्ग ४ घण्टामा झर्न सक्यो घर घरमा चौबीसै घण्टा बत्ती बल्यो ।

विविध प्राविधिक चुनौतीका वावजुत प्राविधिक गडबडी हुँदाको केही समय बाहेक यो तिहार सम्म १ वर्ष पुग्यो । बत्ती चोर्ने, बत्ती बेच्ने र दुरुपयोग गर्नेहरुको मर्ममा प्रहार गरेर लोड व्यवस्थापनको कुशलता प्रयोग गरेर जनताप्रति उत्तरदायी राजनीतिक प्रतिबद्धताको यो उपहार हो ।

आर्थिक वृद्धिमा तीव्रता, अँध्याराको त्रासबाट जनताको मुक्ति, युवाहरुमा नयाँ विश्वास र आशा । देश बनाउन इमान्दार प्रयत्न, कुशल व्यवस्थापन, चुनौती खडा गर्दै सामना गर्ने प्रतिबद्धता हाम्रो 'उज्यालो नेपाल'को सफलता । धन्यवाद मेरो टोलीलाई जसले दुस्साहसी भनिएको, सस्तो लोकप्रियता भनिएको, झुट्ठा आश्वासनमा गनिएको सोचलाई जवाफ दियो ।

धन्यवाद ! मलाई विश्वास गरेर जिम्मेवारी दिने मेरा आदरणीय नेता प्रचण्डलाई, धन्यवाद इमान्दार नेतृत्व गर्ने सचिव अनुपलाई, धन्यवाद कुलमान नेतृत्वको प्राविधिक टिमलाई । धन्यवाद ! मलाई हौसला प्रदान गर्ने युवा साथीहरूलाई, सबै आदरणीय जनतालाई । उज्यालो नेपालको १ वर्षको सफलताको अनुभूतिसँगै दीपावलीको उपलक्ष्यमा शुभकामना । अब समृद्धिका लागि नेपालको पानी जनताको लगानी । अब नयाँ अभियान ।

२०७४ कार्तिक ०३ गते १३:३० मा प्रकाशित
806 पटक पढिएको

प्रतिक्रिया दिनुहोस