कांग्रेसी नेताहरुका असन्तुलित अभिव्यक्ति
बुधबार, ०१ कार्तिक २०७४
कांग्रेसी नेताहरुका असन्तुलित अभिव्यक्ति

डा.विजयकुमार पौडेल 

पञ्चायती व्यवस्थाका पृष्ठपोषक र पञ्चहरुले कम्युनिस्ट र काँग्रेस दुवैलाई “अराष्ट्रिय तत्त्व” (अ.त.) भन्ने गर्थे । कांग्रेसीहरु र पञ्चहरु दुवैले कम्युनिष्टहरुलाई समानढंगले निकृष्ट, अराजनीतिक र कपोलकल्पित आरोप लगाउँथे । ती मध्ये धेरै प्रचलित मनगढन्त आरोप हुने गर्थे, ‘कम्युनिष्टहरुले साठी वर्ष पुगेका बुढाबुढीहरुलाई गोली हानेर मार्छन्’ भन्ने । कम्युनिष्टहरुमाथि पञ्च र कांग्रेसीहरुले समान ढङ्गले आक्रमण गर्थे, भौतिक आक्रमण समेत । त्यसका जिउँदा–जाग्दा प्रमाण त फेरि काँग्रेस बनेका विजयकुमार गच्छदार नै हुन् । 

कम्युनिष्टहरुको अथक प्रयत्नले वि.सं.२०४६ सालमा संयुक्त आन्दोलन हुन सम्भव भएको हो । त्यसमा सकारात्मक भूमिका खेलेकोमा स्वर्गीय गणेशमान सिंहलाई श्रद्धासुमन । पञ्चायत गयो, बहुदल आयो र आयो २०४८ सालको  चुनाव । कम्युनिष्टहरुलाई लागेको थियो–अब त कांग्रेसीहरुले विगतबाट अलिकति पाठ सिक्लान् र राजनीतिक व्यवहार गर्लान् । तर २०४७ सालको अन्त्यमा आयोजित आम चुनावमा कांग्रेसीहरुले कम्युनिष्टहरुविरुद्ध बुर्जुवा वर्गले सय वर्ष पहिले लगाउने गरेका कपोलकल्पित आरोप नै लगाउन थाले । ती आरोपहरू यस्ता थिएः

–“कम्युनिष्टहरुले साठी वर्ष पुगेका वृद्धवृद्धालाई गोली हानेर मार्छन् ”
– “कम्युनिष्टहरुले दिदी–बैनी मान्दैनन् ।”
– “कम्युनिस्टहरूले ठुलो ड्रममा खाना पकाउँछन् र लाइन लगाएर खान बाध्य पार्छन् । कम्युनिस्ट शासन आएपछि घरमा खान पाइन्न, मेसमा सडेको भात खानु पर्दछ ।”
–“कम्युनिष्टहरुले गरिबको सम्पत्ति लुटेर लैजान्छन् ।”

यस्तै–यस्तै अनर्गल, झुठ र कुप्रचार गरिन्थ्यो कम्युनिष्टहरुविरुद्ध २०४८ को चुनावमा । कांग्रेसीहरु गाउँगाउँमा किसानका घरमा जान्थे र भन्थे, “हेर यो गोठको भैंसी ! कम्युनिस्ट सरकार आयो भने त खोसेर लगिदिन्छ  बरै ! ” 

कम्युनिष्टहरु जनतालाई यसो भन्थे, “यस्ता झुठा कुरा नपत्याउनुस् । सबै मानिस एक पटक साठी वर्ष पुग्छन्, हामी पनि अकालमै मरिएन भने एक दिन त साठी वर्ष पुग्छौं । हामी आफैँले आफैँलाई गोली हान्ने व्यवस्था बनाउँला त ?”
यस्ता अत्यन्त झुठा विषयमा पनि खण्डन गर्नुपर्दा कम्युनिस्ट कार्यकर्ताहरू हैरान पर्थे । 

वि.सं.२०५१ सालमा नेपाली काँग्रेसले बहुमत भएको आफ्नो सरकार आफैँले ढाल्यो । त्यसपछिको मध्यावधि निर्वाचनमा सबैभन्दा ठुलो दलको नाताले नेकपा एमालेले अल्पमतको सरकार बनायो । त्यस सरकारले ७५ वर्ष पुगेका बृद्धबृद्धालाई पेन्सन दिन थाल्यो । गाउँगाउँमा बजेट जान थाल्यो । कम्युनिस्ट पार्टीविरुद्ध फैलाइएका अराजनीतिक, अनर्गल मिथ्या प्रचारहरु आफैँ हराए । 

अहिले देशका दुई ठुला कम्युनिस्ट पार्टीहरू आपसमा मिल्न थालेको खबर आएको छ । यिनीहरू मिल्ने भए भन्ने सुन्नेबित्तिकै देशका समग्र कांग्रेसीजनहरुको रातको निद्रा र दिनको चयन गायब भएको छ । मानिस धेरै अनिँदो बस्यो भने मानसिक सन्तुलन गुमाउँछ र जे पायो त्यही बोल्न थाल्छ । अहिले कांग्रेसीहरु त्यस्तै गर्न थालेका  छन् ।

अहिले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतका शीर्षस्थ कांग्रेसीजनहरुले यस्तो भाषामा बर्बराउन थालेका छन्ः

–“कम्युनिष्टहरु आपसमा मिल्नु भनेको देश अधिनायकवादी दिशातिर जानु हो ।”
–“कम्युनिष्टहरु आपसमा एकजुट भए भने लोकतन्त्र समाप्त हुनेछ ।”
–“कम्युनिष्टहरुको बहुमत आयो भने बोल्न÷लेख्न पाइने छैन ।”
–“कम्युनिष्टहरु आपसमा मिले भने देशको अर्थतन्त्र ध्वस्त हुने छ ।” इत्यादि इत्यादि ।

मध्यावधि निर्वाचनमा सबैभन्दा ठुलो दलको नाताले नेकपा एमालेले अल्पमतको सरकार बनायो । त्यस सरकारले ७५ वर्ष पुगेका बृद्धबृद्धालाई पेन्सन दिन थाल्यो । गाउँगाउँमा बजेट जान थाल्यो । कम्युनिस्ट पार्टीविरुद्ध फैलाइएका अराजनीतिक, अनर्गल मिथ्या प्रचारहरु आफैँ हराए । 

प्रधानमन्त्रीजस्तो गरिमामय ठाउँमा बसेपछि त्यसको इज्जत जोगाउन जान्नु पर्ने हो । तर वर्तमान प्रधानमन्त्रीमा त्यति पनि नैतिकता देखिएन । कुनै पनि विचार मिल्ने राजनीतिक शक्तिहरू आपसमा एकजुट हुनु दलीय प्रणालीको सामान्य नियम हो । देशमा झिना–मसिना राजनीतिक दलहरू वर्षायामको च्याउजस्तै छरपस्ट हुनु कुनै हालतमा पनि राम्रो होइन ।

वर्गस्थिति र वर्ग चिन्तनका आधारमा देशमा मूलतः दुईवटा मात्रै राजनीतिक सङ्गठन आवश्यक हुने हुन्– शोषित–पीडित सर्वहारा, गरिब, मजदुर, मध्यम तथा धनी किसान र राष्ट्रिय पुँजीपति वर्गको हित गर्ने कम्युनिस्ट पार्टी र साम्राज्यवादका तमाम एजेण्डाहरुलाई समर्थन गर्ने, सरकारले उद्योग–धन्दा चलाउनु हुन्न, बजारलाई स्वतन्त्र छाड्नु पर्दछ, मूल्यमा कुनै हस्तक्षेप गर्नु हुन्न भन्ने सारतः दलाल पुँजीवादको पृष्ठपोषण गर्ने बुर्जुवा  पार्टी । अहिलेको बुर्जुवा वर्गले प्रतिगामी एजेण्डा नै बोक्छ । यो कुरा बुर्जुवा वर्गलाई वर्तमान वास्तविकताले सुम्पेको जिम्मेवारी हो । 

फणिन्द्र तिमिल्सिनाको हत्याको आरोप लागेका विजय गच्छदार र अरुअरु बुर्जुवाहरु नेपाली काँग्रेसमा फर्किनुमा जति स्वभाविकता छ, त्यति नै स्वभाविकता कम्युनिष्टहरु आपसमा मिल्नुमा छ । बरु नेपाली काँग्रेस र राजेन्द्र महतोले नेतृत्व गरेका पार्टीहरू एकाआपसमा छुट्टिएर बस्नु अस्वाभाविक हो । यसै गरी कम्युनिस्ट पार्टीहरू अनावश्यक विभाजित हुनु पनि अस्वाभाविक कुरा हो । वर्तमान एकीकरणको प्रक्रिया कत्तिको सफलिभूत हुने हो, हेर्न बाँकी नै छ, तर कम्युनिस्ट पार्टीहरू एकजुट हुनु उनीहरूलाई इतिहासले सुम्पेको जिम्मेवारी पुरा गर्ने अभियानकै अङ्ग हो ।

नेकपा एमाले र माओवादी केन्द्र आपसमा मिल्ने कुराले मात्र देशको बुर्जुवा वर्ग यति धेरै अत्तालिन्छ भने देशका सबै कम्युनिस्ट पार्टीहरू आपसमा मिलेर समाजवादी आन्दोलन अगाडि बढाउन थाल्दा यो देशका कांग्रेसी नेताहरूको हविगत के हुने हो, सहजै अनुमान गर्न सकिन्छ । 

अहिलेको दुनियाँमा बहुदलीय प्रतिस्पर्धाको माध्यमबाट संसद् तथा सरकारमा जाने कुनै पनि पार्टीले, त्यो पनि नेपालको विशिष्ट भूराजनीतिक अवस्थितिमा, कुनै पनि प्रकारको राजनीतिक अधिनायकवाद लागू गर्न सम्भव नै छैन । यति कुरा प्रधानमन्त्री शेरबहादुर देउवा र रामचन्द्र पौडेलहरुले राम्रैसँग बुझ्नु भएको छ । बरु बुर्जुवा वर्गले संसदलाई बन्धक बनाउने र अधिनायकवाद लागू गर्ने गरेको छ तर चुनावबाट सरकारमा पुग्ने कुनै पनि कम्युनिस्ट पार्टीले अधिनायकवाद लाद्नै सक्दैन भन्ने कुरा दिनको घामजस्तै छर्लङ्ग छ । अधिनायकवाद लाद्न चाहने कम्युनिष्टहरुले चुनावको बाटो रोज्दैनन् । अहिलेको विश्वमा हतियारको बलमा कम्युनिस्ट शासन स्थापित गर्न सम्भव छैन भन्ने कुरा नेपालमा भएको प्रयोगले देखाइ पनि सकेको छ । 

तर पनि किन नेपाली काँग्रेसका सभापतिले नै यस्तो भनिरहेका छन् त ? यस प्रश्नका दुईवटा मात्र उत्तर हुन सक्छन्– (१) या त शेरबहादुर र यस्तै बोल्ने कांग्रेसी मित्रहरू धेरै नै आत्तिएका छन् र होस् गुमाएका छन्, या (२) शेरबहादुरजी कुनै न कुनै गैर संवैधानिक÷गैर लोकतान्त्रिक कदम चाल्न उद्यत हुनुभएको छ र त्यसका लागि वातावरण बनाउँदै हुनुहुन्छ । हामी आशा गरौँ पहिलो कुरा सही होस् र उहाँहरूको होस् छिट्टै फर्कियोस् । 

“हाम्रा मात्रै नेताहरूले भ्रष्टाचार गरेका हुन् र उनीहरूलाई मात्रै सजाय हुनुपर्ने ? एमाले र माओवादीका नेताहरूले पनि भ्रष्टाचार गरेका छन् । उनीहरूलाई सजाय भएको खोइ ? ... भ्रष्टाचारको आरोपमा जेल बस्दैमा चुनावमा उठ्न नपाइने कुरा अन्याय हो ।”

कांग्रेसी मित्रहरुले होस गुमाउनु भएकै छ भन्ने कुराका अरू धेरै प्रमाणहरु छन् । एक जना लोकले धेरै आस गरेका युवा नेता भ्रष्टाचारमा दुर्नाम कमाएका र अदालतको फैसलापछि सजाय भोगेर चुनावमा उठ्नबाट वञ्चित गरिएका आफ्ना केही नेताहरुकाबारेमा सञ्चारमाध्यममा यस्ता तर्क गर्दै थिए, “हाम्रा मात्रै नेताहरूले भ्रष्टाचार गरेका हुन् र उनीहरूलाई मात्रै सजाय हुनुपर्ने ? एमाले र माओवादीका नेताहरूले पनि भ्रष्टाचार गरेका छन् । उनीहरूलाई सजाय भएको खोइ ? ... भ्रष्टाचारको आरोपमा जेल बस्दैमा चुनावमा उठ्न नपाइने कुरा अन्याय हो ।”

यो अभिव्यक्ति मानसिक सन्तुलन गुमाएको नभएर के हो त ? जो–जसले भ्रष्टाचार गरे पनि ती सबै कानुनको दायरामा ल्याउनु पर्छ पो भन्नु पर्ने हो । कोही पनि भ्रष्टाचारी उम्किन नपाउन् भनेर अभियान चलाउनु पर्ने युवा कांग्रेसी नेताले यस्ता अभिव्यक्ति दिएपछि सो पार्टीको तलदेखि माथिसम्मको हतास मनस्थितिबारे यथार्थ जानकारी हुन्छ ।  

अहिलेको कांग्रेसी चाला हेर्दा त उहाँहरूले कम्युनिष्टहरुविरुद्ध “साठी वर्षमा गोली हान्ने” प्रचार फेरि पनि गर्न बेर छैन । यस्ता अभिव्यक्तिहरुले स्वयम् नेपाली काँग्रेसको छवि धुमिल बनाइरहेका छन् भन्ने कुरा कांग्रेसी मित्रहरुको दिमागमा घुसोस् । 

२०७४ कार्तिक ०१ गते २१:१२ मा प्रकाशित
5747 पटक पढिएको

प्रतिक्रिया दिनुहोस